abiralविकास भनेको रुपान्तरण हो चाहे त्यो जुनसुकै क्षेत्र भित्र नै किन नहोस्। रुपान्तरण भन्नाले कुनै विषय वस्तुको रहिआएको अवस्थाबाट सकारात्मक मार्गतर्फ परिवर्तन भएको अवस्था भन्ने बुझिन्छ । जहाँ जे कुराहरुको अभाव छ, ती प्राप्त हुनु नै विकासको पथमा लम्कनु हो भन्न सकिन्छ । हरेक स-साना उपलब्धिको समष्टिगत रुप नै दीर्घकालमा पूर्ण विकासको अवस्था बन्न सक्दो रहेछ । मुस्ताङमा भोको पेटका लागि एक छाक खानाको सुनिश्चितता विकास हुन सक्छ भने तराईको प्रचण्ड गर्मीमा खाली खुट्टा धुलोमा आफ्ना भाइ बहिनीसँग खेल्दै गरेकी बालिकाका लागि एक जोडी चप्पल र खेल्नलाई व्यवस्थित स्थान, विकासको सूचक हुन सक्दछ ।

विकासको मूल प्रवाहमा रहेको  नेपालका लागि ग्रामिण विकास अति महत्वपूर्ण सवालका रुपमा रहेको छ । विकासका धेरै मोडहरु हुने गर्दछन् । तर विकासलाई सार्थकता दिनको लागि एउटा राज्यले सम्पुर्ण ग्रामिण भेग विकास गर्न सकेको खण्डमा मात्र विकासको मोडलले सार्थकता पाउन सक्दछ । देशको आर्थिक, सामाजिक र राजनितिक विकास गर्न सकेको खण्डमा विकासले परिवर्तनकारी भूमिका खेल्ने गर्दछ । आर्थिक विकास ग्रामिण विकासको प्रमुख पक्षका रुपमा रहेको छ । आर्थिक विकासका लागि प्रमुख कुरा भनेको देशका जनताको जीवन स्थरमा सुधार, रोजगारीको सृजना, उद्योग तथा कलकारखाना विकास, साधन र स्रोतको उपयोग तथा जिवन उपयोगी सिप, शिक्षाको विकासमा सक्षम रहनु भन्ने बुझिन्छ ।

ग्रामीण विकासको क्रममा निम्न चार प्रश्नहरुको उत्तर खोज्न जरुरि छ :-

१.  विकासले ग्रामीण तथा शहरी क्षेत्र बिचको दूरीलाई कम गर्न सकेको छ कि छैन ?

२.  ग्रामीण क्षेत्रमा रोजगारीको अवसर बढेको छ कि छैन ?

३.  ग्रामीण क्षेत्रमा गरीबी घटेको छ कि छैन ?

४.  ग्रामीण क्षेत्रमा वातावारण सन्तुलनका लागि के-कस्ता प्रयास गरिएका छन् ?

यदि हाम्रै कालमा ग्रामीण क्षेत्र र समग्र नेपाललाई समृद्ध बनाउने चेष्ठा लिने हो भने अब निम्न  प्रमुख खम्बाहरुलाई  उत्तिकै महत्व दिनुपर्छ।

पूर्वाधार बिकास +जिम्मेवार नागरिक + वातावरणमैत्री प्रविधि + कृषिको व्यवसायीकरण + स्थानीय लगानी + युवा परिचालन  + उद्यमशील  समाज  =  हितकारी राज्य जसबाट बन्छ  संमृद्ध ग्रामीण हाम्रै कालमा

पूर्वाधार

उपयुक्त ग्रामीण विकासका लागि पूर्वाधार निर्माण सबैभन्दा महत्वपूर्ण हुन्छ । सडक, बिजुलीजस्ता आधारभूत पूर्वाधार बिना ग्रामीण विकास सम्भव छैन । सडकले मानिसको पहुँच विस्तारमा सहयोग गर्छ । ग्रामीणस्तरमा उत्पादित सामानलाई बजारसम्म पुर्‍याउन अर्थात् वस्तुको लेनदेनका लागि पनि सडक र अन्य पूर्वाधार आवश्यक छ । मुलुकमा पूर्वाधार निर्माण गर्ने दायित्व राज्यको हो । त्यसमा निजीक्षेत्रको पनि सहयोग लिन सकिन्छ ।  पूर्वाधार विकासमा यहाँका युवा परिचालन हुन सके वैदेशिक रोजगारीमा जाने सङ्ख्या पनि क्रमशः कम हुन थाल्छ । हिमाली क्षेत्रमा यातायात र सञ्चारको पहुँच नपुग्नु, त्यहाँ राष्टिय र अन्तर्राष्ट्रिय भाषाको प्रयोग नहुनु तथा त्यहाँ स्थानिय स्रोत-साधन परिचालकको अभाव हुनुले समस्या पर्ने गर्दछ । त्यसका लागी सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, रहनसहन बुझेको परिचालकको आवश्यकता पर्दछ । त्यसैगरी पहाडी क्षेत्रमा भौगोलिक अवस्था, यातायात र सञ्चारको विस्तार भएपनि व्यवस्थित नहनुजस्ता समस्याहरु उत्पन्न भएका छन् । त्यसैगरी तराई क्षेत्रमा मातृभाषा र त्यहाँको रहनसहनमा घुलमिल भएका सहकर्मीको आवश्यकता पर्ने गर्दछ ।

सामाजिक विकासमा  जिम्मेवार नागरिक 

सामाजिक विकासले ग्रामीण विकासमा ठूलो भूमिका निर्वाह गर्छ । त्यसमा पनि स्वास्थ्य र शिक्षाले सबैभन्दा ठूलो प्रभाव पार्छ । परम्परागत रूपमा चलिआएको कामलाई शिक्षामार्फत परिवर्तन गर्न सकिन्छ । शिक्षाका सन्दर्भमा सैदान्तिक ज्ञानसँगै सिप विकासमा बढी जोड दिनुपर्ने हुन्छ । पढेको मान्छेको व्यवहार तथा कार्यशैलीमा केहि न केहि फरकपन ल्याउँछ। उद्यमशीलताको उपाय ग्रामीणस्तरसम्म पुर्‍याउनुपर्ने आवश्यकता छ । शिक्षा, स्वास्थ्य, खानेपानि आदि जस्ता सामाजिक  पूर्वाधारको विकासमा जोड दिँदै  सामाजिक सुरक्षाका सवालका विषयहरुलाई प्राथमिकतापूर्वक संचालन गर्नु पर्दछ जसमा विशेष प्राथमिकताको समुह भनेर युवालाई समावेश गर्नु पर्दछ ।

वातावरणमैत्री प्रविधि

नेपालको ग्रामीण विकासका लागि वातावरणमैत्री प्रविधि आवश्यक छ । यसको सबैभन्दा भरपर्दो माध्यम सौर्यशक्ति हुन सक्छ । पेट्रोलियम पदार्थको बढ्दो प्रयोगबाट शहरी तथा आसपासका क्षेत्र मात्र होइन, ग्रामीण भेगसमेत प्रभावित भइरहेको अवस्था छ ।

स्थानीयस्तरमा उत्पादित ऊर्जालाई सिँचाइ र घरायसी प्रयोगका साथै, पानी व्यवस्थापन, विद्युतीय यातायात (केबलकार, रोप–वे)लगायत काममा प्रयोग गर्न सकिन्छ । नयाँ प्रविधिले वातावरणमा भने कुनै पनि असर पार्नुहुँदैन । हामीलाई दिगो ग्रामीण विकास आवश्यक छ ।

कृषिको व्यवसायीकरण

नेपाल अझै पनि परम्परागत कृषि प्रणालीमा आधारित छ । यस प्रकारको प्रणालीले उत्पादन लागत बढ्न जाँदा कृषकले लाभ प्राप्त गर्न सकिरहेका छैनन् । परम्परागत रूपबाट उत्पादित सामानको बजार व्यवस्थापनका लागिसमेत महँगो पर्छ । बजारमा विषादीयुक्त खाद्यपदार्थको बिगबिगी छ । माटो संरक्षणमा ध्यान नदिई तत्काल नाफाका लागि गरिएको कृषि प्रणालीले दीर्घकालमा ग्रामीण विकासमा असर पुग्छ । नेपालले तत्काल नाफामूलकभन्दा दीर्घकालीन विकासमा जोड दिनुपर्छ । उत्पादन वृद्धिका लागि विषादी र रासायनिक मलको साटो उन्नत बीउ र अत्याधुनिक प्रविधिको प्रयोगमा जोड दिनु आवश्यक छ ।

स्थानीय लगानीमा  जोड ( LOCAL Investment )

ग्रामीण विकास कसैको एक्लो प्रयासमा सम्भव छैन । राज्यको प्रयासले पनि सफलता नपाइरहेको अवस्थामा ग्रामीणस्तरमा स्थानीय लगानीमा जोड दिनु आवश्यक छ । महँगो मूल्य पर्ने प्रविधि पनि सामूहिक प्रयासमा सजिलै भित्र्याउन सकिन्छ । आजको शिक्षाले कृषक बन्न सिकाएको छैन । सामूहिक रूपमा ग्रामीणस्तरमा शीपमूलक शिक्षा प्रदान गर्ने शिक्षालय स्थापनामा पनि जोड दिनुपर्छ । बजार विस्तार, कृषिको उत्पादकत्व वृद्धि तथा मललगायतमा राज्यले अनुदानको व्यवस्था गर्न सक्छ ।

युवा परिचालन

युवा देशका महान् हस्ति हुन्, परिर्वतनका संवाहक हुन्, मानव अधिकार, बालअधिकार तथा सम्पूर्ण क्षेत्रमा सुरक्षित गर्न खोजेएको अधिकार, विकासका मुलनायक हुन् र वातावरण संरक्षण कर्ता हुन् । नेपालको कुल क्षेत्रफलको ८२.९३ प्रतिशत भू-भाग ग्रामिण क्षेत्रमा रहेको छ । नेपालका ८० प्रतिशत मानिस कृषि क्षेत्रमा आश्रीत रहेका छन् । नेपालको कुल जनसंख्याको ४०.३४ प्रतिशत युवाहरुको संख्या हो । नेपालका कुल युवा संख्यामा ५४ प्रतिशत युवाहरु बेरोजगार रहेका छन् ।आज रोजगारीको सिलसिलामा विदेशिने युवाको सङ्ख्या ठूलो छ। उनीहरूसँग एक त पूँजीको अभाव छ भने अर्कोतर्फ उचित शीप र ज्ञानसमेत प्रदान गर्न सकिएको छैन । ग्रामीण विकासमार्फत मुलुकको विकास गर्ने हो भने युवा परिचालनलाई प्राथमिकतामा राख्नुपर्छ । युवालाई नेपालको प्राथमिकता प्राप्त क्षेत्रमा उचित प्रकारबाट परिचालन गर्न सकेको अवस्थामा गरिबी निवारण गर्न सकिन्छ । युवा लक्षित कार्यक्रमको लाभ लक्षित वर्गले नै प्राप्त गर्नुपर्छ । कृषिको व्यवसायीकरण तथा पशुपालन, जडिबुटी, फलफूल खेती र बजार विस्तारमा युवा सहभागिता बढाउन राज्यले सहुलियतमा ऋण तथा आर्थिक अनुदानलगायत व्यवस्था गर्न सक्छ ।

उद्यमशील  समाज 

नेपालको श्रम सर्वेक्षण अनुसार ४ लाख युवाहरु प्रत्येक वर्ष श्रम बजारमा आउँछन् । करिब ३० लाख नेपाली युवाहरु खाडी मूलुक; जस्तै मलेसिया, साउदी अरेबिया, कतार, दुबाई, वहराइन, कुवेत आदि जस्ता मूलुकमा आफनो श्रम बेच्न हिडिरहेको अवस्था रहेको देखिन्छ । सोहि संख्याको हाराहारिमा अभिलेखीकरण नभएका समेत यी मूलुकमा कार्यरत रहेका छन् । युवाहरुमा चेतनाको स्तर वृद्धि गर्न नसकिरहेको अवस्था छ । देशमा अन्योलको वातावरण सृजना भइरहेको अवस्थाले गर्दा पनि यसको असर युवाहरुमा पर्दै गइरहेको स्थिति छ ।

यो समस्य चिरी उद्यमशील समाज सिर्जना गर्न कृषिमा आधारित औद्योगीकरणलाई प्रोत्साहित गर्न सकिन्छ। अहिले वैदेशिक रोजगारीमा गएका र स्वदेशमा वर्षेनि उत्पादन हुने नयाँ श्रम शक्तिलाई रोजगारी दिन सक्ने गरी कृषिको औद्योगीकरण गर्नु पर्दछ। नयाँ प्रविधिहरूको विकास र समुदायमा हस्तान्तरण गर्ने विषय यसमा पनि महत्वपूर्ण छ । औद्योगीकरणका लागि लगानीको सुरक्षा र प्रतिफलको सुनिश्चितता हुनुपर्छ । लगानीको उचित वातावरण तयार गर्ने काममा सरकारले पनि आवश्यक सहयोग गर्नुपर्छ । बजार तयार गर्नेदेखि लगायतका काम गरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सरकारले सहयोग गर्न सक्छ । राज्यले कृषि वस्तुको अन्तर्राष्ट्रिय व्यापारमा भइरहेको भन्सार र गैरभन्सारको अवरोधहरूलाई हटाउन पनि केही कदम चाल्नुपर्ने आवश्यकता छ ।

माथिका खम्बाबाट तब मात्र संमृद्ध ग्रामीण सफल हुनसक्छ जब राज्य आफै हितकारी हुदै जान्छ  अनि देशका ग्रामिण क्षेत्रको बिकाशका निमित राज्यले सम्पूर्ण ग्रामिण हितको लागि विकास मैत्री (Development friendly Envirement) वाताबरण सिर्जना गरि युवाहरुलाई प्राथमिकताका साथ काममा लगाई विकासको अग्रगमन गतिमा समावेश गर्न सकेको खण्डमा देशको विकास सँग-सँगै युवाहरुको क्षमताको विकास र रोजगारीको विकास हुने गर्दछ । जसको माध्यमबाट ग्रामिण विकास द्रुत गतिमा अगाडि बढने छ अनि राष्ट्रको  संमृद्धि सम्भव छ हाम्रै कालमा।

(कार्की विवेकशील
 नेपाली दलका केन्द्रीय कार्यपालिका सदस्य एवं ग्रामीण विकासका विद्यार्थी हुन्)