– सरोज उप्रेती , सदस्य , विवेकशील नेपाली 

उहिले दोस्रो जनआन्दोलनमा युद्धको देहान्तसँगै जन्मिएको यो गोरुको समय दिउँसो पीडा जोतेर आन्द्रो उमार्दै बेलुकीपख गोठको दाहिने कुनामा घिस्रिएर मर्ने अनि विहानीमा दिवाकरको बिउझाई सँगै फिर्ने क्रममा बित्ने गर्छ। यसले आजसम्म बुझेको छैन राजनीतिको रणनीति अनि सरकारको सरोकार।

चुनावको समयमा जब बेरोजगारी झ13590317_1082286941865240_2050035830378853855_nन्डारुपी रोजगारमा परिणत हुन्छ, कान्लो तलतिरबाट हिँडेका पार्टीका कथित कार्यकर्ताहरुको हातको झन्डा देखेर यो गोरु भुडीं ओकल्ने गरी कराउन थाल्छ।अनि, मानिसहरु भन्न भ्याइ हाल्छन् “यो गोरु त कांग्रेसी रैछ, कम्युनिष्ट रैछ या राजावादी रैछ”। बुझेकै हुदैनन् उनीहरूले कि यसले रुखको चिन्हमा जीवन्त शीतलताको स्वोर्गानुभूति गरेको छ, सूर्यमा यसले अविरल मित्रताको चित्र देखेको छ, हसियाको धारमा भोकको तृष्णा लुकेको छ, हलो सँग यो जीवनभरका लागि बाधिएको छ अनि गाई यसकी धर्मपत्नी हो।

यदी राजनीति बुझेको हुँदो हो त, प्रत्यक पटक मालिकले यो माथी नैराश्य बजार्दा वेदनालाई मुटुमा पिल्साएर हिँड्ने थिएन होला, बरु लोकतान्त्रिक परिभाषाको स्वतन्त्रता खोज्दै मैदानमा आन्दोलनमय विरोध लिएर उत्रिने थियो या छिप्पिएका सिङ्ले मालिकको फोक्सो टुक्राउने थियो । अझ, बाहिर मुक्तिको भाषण ठोकेर भित्र दाम्लोको झुन्डोले मेरूदण्डमा ठटाउने आफ्ना राजनीतिज्ञ मालिकलाई जोतेर उहिले शोषणका झारहरु मिल्काइसकेको हुने थियो l

हुन त यसले पल्लो कोठाको टि.भी मा बजेको संवैधानिक कट्टुको दुर्गन्धप्रतिको विरोध देखि मैत्रीपूर्ण भनिएको कठोर छिमेकी अवरोध, ढलेका पुराना सरकार, बनेका नयाँ सरकार, आशवाशन थैला, निष्क्रियताका मैला, क्रियाशीलता अनि क्रिया-शून्यता, खुट्टा तानातान, कुर्सी हानाहान, मिलेका हात, जुटेका साथ, अगति परेका आँशु, काचै मरेका मासु लगायत धेरै सुनेको छ तर महसुस गरेको छ त केवल “उसका अगिल्ला मूल्यहीन दुई जर्बुटाहरु बजिरहेछन्- त्यसै।”

देशको जुनसुकै परिवेशमा पनि यसले बुझेको छ त केवल निराशाको परिभाषा अनि पालेको छ त मात्र आशाको अभिलाषा। कहिलेकाहिँ यसलाई देखेर रत्नपार्कका सडकका वृद्ध बालकका खुट्टाहीन टेकाइको याद आउँछ, हजारमा बजारमा बेचिन लागिएकी चेलीको विभत्स लुटाइको याद आउँछ अनि मरेको दुइ बर्ष पुगिसक्दासम्म दाहा-संस्कार नगरिएकी सोझी आमाको दुखाइको याद आउँछ।यो आफैमा लोकको शोक बोक्ने “धरहरा” हो जस्तो लाग्छ।

मैले कत्तिको बुझेको छु थाहा छैन तर यस फगत जगतले यो गोरुलाई नबुझ्ने हो भने एक दिन यसले राजनीति बुझ्ने छ र समातेर त्यसको लहरो क्रान्तिको पहरो गर्जाउने छ; त्यो क्षण तिमी र म थाल ठटाउने या ताली बजाउने भन्दा बाहेक अरू केही गर्न सक्षम हुने छैनौ – लेखेर राख !!